नेपालको राजनीति हेर्दा हामी बारम्बार एउटै कुरा दोहोरिएको देख्छौँ। पहिले ठूलो आशा, ठूलो जनलहर, अनि केही समयपछि निराशा। कुनै बेला माओवादीले जनमुक्ति सेना द्वारा समाज परिवर्तन र पहिचानको संर्घष सुरु गर्दै आएको एउटा विशाल जवआन्दोलनले यस्तो जनलहर सिर्जना गरेको थियो, जसले राज्य सत्ता नै पल्टायो। धेरैले सोचे अब देशको हरेक पद्दति बदलिन्छ, अवस्था बदलिन्छ, दबिएका आवाज सरकारले सुन्छ, बुवा बाजेले भोगेका पिडा छोरा नातिले भोग्ने छैनन्। कतिपय आवाजहरु पुरा भए अधिकारको कुरा आयो, लोकतान्त्रिक अधिकार स्थापित भयो, देशमा जनताको पूर्ण सरकार बन्यो, संघियता आयो तर पनि अपेक्षाकृति वाचा पूरा हुन सकेन। पहिलो संविधान सभाको निर्वाचनमा लगभग बहुमत हासिल गरेको नेकपा माओवादी आज आफ्नै अस्तित्व जोगाउन नसक्दा पार्टी फेरबदलको शिकार बन्न पुगे छ। अहिलेको अवस्थामा बहुत ल्याउनु हरेक दलका लागि दिवा सपना जस्तै भैसक्यो। यो केवल एउटा कथा होइन, यो जनलहरलाई नै राजनीति ठान्ने सोचको असफलता हो।
जनलहर भनेको के हो? जनलहर मूलतः जनताको भावनाबाट जन्मिने उभार हो। आक्रोश, असन्तुष्टि र आशा मिसिँदा यस्तो लहर उठ्छ। यसले पुरानो व्यवस्था हल्लाउन सक्छ, तर नयाँ व्यवस्था बनाइराख्न सक्दैन। जनलहर क्षणिक हुन्छ, तर देश चलाउन चाहिने कुरा दीर्घकालीन सोच, नियम र संस्थाहरू हुन्।
हामी धेरैजसो सोच्दछौँ “एउटा बलियो नेता आयो भने देश बन्छ।” तर इतिहासले के भन्छ भने, जब नेता आफूलाई जनताभन्दा माथि ठान्न थाल्छ, त्यतिबेलै समस्या सुरु हुन्छ। अदालत, संसद् र पत्रकार उसलाई शत्रु जस्ता लाग्न थाल्छन्। विरोध गर्नेहरूलाई राष्ट्रघाती भनिन्छ। यही बाटोले लोकतन्त्रलाई कमजोर बनाउँछ।
तानाशाही सधैं बन्दुक लिएर आउँदैन।
धेरैजसो त ताली, नाराहरू र ठूलो जनसमर्थनकै बीच जन्मिन्छ।
नेपालमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउनु धेरैलाई समस्या लाग्छ। तर यो एउटा चेतावनी पनि हो। राणा र राजशाहीबाट गुज्रेर आएको नेपाली समाज अझै पनि एक व्यक्ति वा एक दललाई सबै शक्ति दिन तयार छैन। नागरिक समाज, बुद्धिजीवी र सचेत नागरिकहरूले अनौपचारिक रूपमा सन्तुलन (check and balance) बनाईरहेका छन्। कमजोर सरकारलाई असजिलो हुन सक्छ, प्रश्न उठ्न सक्छ, विकास ढिलो हुन सक्छ तर सबै शक्ति एउटै हातमा जानु झन् त्यो भन्दा खतरनाक हुन्छ।
आज नयाँ अनुहारहरू राजनीतिमा आएका छन्। जनतामा उनीहरूप्रति आशा छ, जुन स्वाभाविक हो। तर प्रश्न यो हो के उनीहरूले पनि नियम, कानुन र आन्तरिक लोकतन्त्र मान्छन्? के उनीहरूले आफ्नो विभिन्न तहमा सकरात्मक कार्यशैली देखाएका छन्? यदी कोही संसद वा स्थानीय तहमा हुनुहुन्थ्यो भने उहाँले कति योजना पूरा गर्नु भयो? के वहाँहरुमा नैतिकवान र सार्वजनिक सवाल जवाफ खप्न सक्ने सामर्थ्य छ? या उनीहरू पनि लोकप्रियता कै भरमा “जनता मसँग छन्” भन्दै विधिलाई बेवास्ता गर्छन्? यदि विधि मानिएन भने, अनुहार जति नयाँ भए पनि परिणाम पुरानै हुन्छ।
हरेक जनप्रिय नेताहरुले सर्वप्रथम उनीहरूले आफ्नो पार्टीको विधान सिध्दान्त अनुसार वैधानिक रूपमा जनसंघर्ष गर्नुपर्छ। आफ्ना दल र सहयोगीलाई समेटेर जानुपर्छ। विधिको शासन कायम गर्नुपर्छ। सैद्धान्तिक विचार, संयमता, धैर्यता र दिगो लक्षित स्वार्थ हुनुपर्छ।
मिडिया प्रचारबाजी र स्टारडमको जनलहर हरेक तहमा अव्यवस्थित ल्याउन सक्छ। पार्टीमा समकालीन संस्थापकहरु बिच कलह र टुटफुटको अवस्था आउछ। यदी सत्ता प्राप्त भइहालेमा पनि त्यस्तो राजनीतिले अर्थतन्त्रका लागि पनि सबैभन्दा जटिल हानिकारक हुन्छ। लोकप्रिय हुनका लागि विभिन्न योजना भयानक रणनीति बनाउने, सर्बत्र मिडिया प्रचारवाजी, स्टारडम पहुँच, क्षणिक विकास योजना, आदी प्रवृत्तिले देश, पार्टी र आमजनताको स्थितिलाई कमजोर बनाउँछ। वैदेशिक स्वार्थ बाँडिन्छ, आमनागरिकमा वौद्धिक अपचलन हुन्छ, लगानी आउँदैन, रोजगारी घट्छ, विभिन्न कुसंस्कारले गर्दा घर परिवार/पुस्तामा वर्ग शत्रु फैलिन्छ, महँगी बढ्छ। अन्ततः यसको भार आम नागरिकले नै बोक्नुपर्छ।
देश बनाउने हो भने त्यसले जथाभावी बिना सिध्दान्त भीड जम्मा गर्नु राम्रो होइन।
बरु देश बनाउने बाटो भनेको: स्थानीय तह बलियो बनाउने, नियम सबैका लागि बराबर लागू गर्ने, प्रशासनिक सेवा प्रवाहलाई जनमैत्री, अदालत स्वतन्त्र राख्ने, संवैधानिक अंगहरुको संरक्षण गर्ने, लोकतान्त्रिक बाटो हुँदै सरकार चलाउन सहयोग गर्ने, नेताहरूलाई जवाफदेही बनाउने ,बिस्तारै तर स्थिर रूपमा सुधार गर्ने
लोकतन्त्र भनेको पाँच वर्षमा एक पटक भोट हाल्नु मात्र होइन। यो हरेक दिन नियम मान्ने, नेतालाई प्रश्न गर्ने र शक्ति नियन्त्रणमा राख्ने अभ्यास हो। जनलहर चाहिन सक्छ, तर त्यो अन्तिम समाधान होइन। यदि हामी फेरि पनि भावनाको लहरकै पछि दौडियौँ भने, इतिहास दोहोरिन्छ। र इतिहास दोहोरिँदा, त्यसले पाठ होइन—दण्ड दिन्छ। जुन दण्डले न नागरिकलाई ऐया भन्न दिन्छ, न राष्ट्रमा सुशासन ल्याउछ , न लोकतन्त्र रहन्छ न विधिको शासन नै।