लोकतान्त्रिक व्यवस्थामा शासकहरु किन प्रायः जसो खराब भेटिन्छन्?



निकोलो म्याकियाभेली (Niccolò Machiavelli) इटालीका प्रसिद्ध राजनीतिक दार्शनिक, कूटनीतिज्ञ, इतिहासकार र लेखक हुन्। उनलाई आधुनिक राजनीतिक विज्ञानको आधारशिला राख्ने व्यक्ति मानिन्छ। उहाँको प्रसिद्ध कृति The Prince (Il Principe, 1532) को केन्द्रीय विचारसँग सिधै जोडिन्छ। म्याकियाभेलीले राजनीति नैतिकता भन्दा शक्ति र यथार्थ को दृष्टिले व्याख्या गरेको पाइन्छ।


१. “उद्देश्यले साधनलाई ठहर्याउँछ” (Ends justify the means)

म्याकियाभेलीले भनेका छन् , शासकको मुख्य उद्देश्य भनेको सत्ता प्राप्त गर्नु र त्यसलाई टिकाइराख्नु हो।

यदि त्यसका लागि बदनामी सहनु परे सहन्छन्, विवाद खडा गर्न या राजनैतिक अराजकता बढाउन तर्फ अग्रसर हुन्छन्। त्यसैले राजनीतिक व्यक्तित्वमा एउटा यस्तो सोच स्थापित भैसक्यो कि , सत्ता सुरक्षित रह्यो भने त्यो व्यवहार राजनीतिमा स्वीकार्य हुन्छ।  त्यसैले कतिपय नेता अनैतिक देखिए पनि बारम्बार जित्छन्।


२. “डर र प्रेम” को सिद्धान्त

म्याकियाभेली भन्छन् “शासकले जनतालाई प्रेम र डर दुवै दिन पाउनु राम्रो हो, तर दुवै सम्भव छैन भने डराइयोस्।”

 त्यसैले प्रेम र डर दुवै राम्रो, तर एक मात्र छान्नुपरे ‘डर अर्थात् भय’ नै उत्तम।

लोकप्रियता घटे पनि, जनताले मन नपराए पनि विपक्ष डराइरहेसम्म जनता त्राशित रहिरहे सम्म शासक सुरक्षित रहन्छ। अराजकता फैलाएर, डर सिर्जना गरेर, विरोध दबाएर चुनाव जित्ने रणनीति यहीँबाट आउँछ।


३. जनताको मनोविज्ञान

म्याकियाभेलीका अनुसार, जनता भावनाले चल्छन् र उनीहरूलाई दीर्घकालीन नैतिकता भन्दा तत्काल लोभलाभ, डर, पहिचान र शत्रु चाहिन्छ । त्यसैले कुशल राजनेताले बाहिरी शत्रु देखाउँछन् , आन्तरिक विभाजन बढाउँछन् , “म नभए देश डुब्छ, अरु खराब छन् मै ठिक छु, अन्तिम पटक सहयोग गर्नुहोला, जितेपछि लाभको प्रलोभन” आदी कथा बनाउँछन् आखिर केही नभए आफ्नै विरुद्ध प्रोपागान्डा फैलाउछन ताकी लामो समय सम्म जनताको मनमा रहिरहोस् र निर्वाचनमा मनोवैज्ञानिक तरिकाबाट मत खोस्न सकियोस्।

समाजमा अलोकप्रिय देखिए पनि आफ्नो ‘कोर समर्थक’ बलियो बनाएर सत्तामा रहन्छन्।

४. बदनामीलाई शक्ति बनाउने कला

म्याकियाभेली अनुसार शासकले राम्रो देखिनुपर्छ, तर सधैं राम्रो हुन जरुरी छैन।

कतिपय नेता विवादबाट मिडिया नियन्त्रण गर्छन् , बदनामीलाई “म साँचो बोल्ने नेता हुँ” भनेर बेच्दछन्  र नैतिक आलोचनालाई “षड्यन्त्र” भन्छन् । 

यसले उनीहरूलाई अझ चिनिन मद्दत गर्छ।


५. अराजकता किन फाइदाजनक हुन्छ?

म्याकियाभेलीकाले भनेका छन , अस्थिर समाजमा जनता सुरक्षाको खोजी गर्छन् र डराएको जनता कडा शासक चाहन्छ

त्यसैले , संकट सिर्जना → भय → “म मात्र समाधान”

 यो चक्रले सत्ता दोहोर्याउँछ।


६. नैतिकता तथा राजनीति

म्याकियाभेली भन्छन् “राजनीति धर्मशास्त्र होइन।” 

त्यसैले नैतिक मानिस राम्रो नेता नहुन सक्छ

कठोर, चलाख, अवसरवादी व्यक्ति सफल शासक हुन सक्छ

त्यसैले समाजले मन नपराए पनि चुनाव जित्ने विरोधाभास देखिन्छ।


म्याकियाभेलीको दृष्टिमा,

सफल राजनेता एउटा नैतिक व्यक्ति हुनुपर्छ भन्ने छैन 

बदनामी कहिल्यै असफलता मानिदैन

डर, विवाद, अराजकता र बौद्धिक संयन्त्र केवल सत्ता टिकाउने उपकरण मानिन्छ 

यही कारण लोकप्रिय नभए पनि, आलोचित भए पनि, अनैतिक देखिए पनि कतिपय नेता सधैं सत्तामा रहन्छन्।




                                                                         - हेम चन्द


Post a Comment

Previous Post Next Post